दुईवटा बहुमूल्य पुरातात्त्विक मूर्तिहरू नेपाल फिर्ता

नेपालको सांस्कृतिक सम्पदा संरक्षण तथा पुनःप्राप्तिको अभियानमा अर्को महत्वपूर्ण उपलब्धि हासिल भएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा २०२६ जुन २३ मा आयोजित विशेष समारोहमा नेपालका महावाणिज्यदूत श्री दधिराम भण्डारी र म्यानहट्टन डिस्ट्रिक्ट अटर्नी कार्यालयको Antiquities Trafficking Unit का प्रमुख कर्नेल म्याथ्यु बोग्डानोस बीच हस्ताक्षर सम्पन्न भई नेपालबाट विभिन्न समयमा चोरी भई विदेश पुगेका १३ औँ शताब्दीको पद्मपाणी र १६ औँ शताब्दीको नृत्यदेवीका बहुमूल्य पुरातात्त्विक मूर्तिहरू औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। 

विगतमा जस्तै यस पटक पनि यी अमूल्य सांस्कृतिक सम्पदाहरूलाई सुरक्षित रूपमा नेपाल पुर्‍याई पुरातत्त्व विभागलाई हस्तान्तरण गर्ने जिम्मेवारी नेवा गुथि, न्युयोर्कले निर्वाह गरेको छ। मूर्तिहरू नेवा गुथिलाई प्राप्त भएपछि सार्वजनिक अवलोकन, संरक्षण तथा विशेष ढुवानी तयारी पस्चात नेवा गुथिका अध्यक्ष श्री राजेन्द्र महर्जन र कोषाध्यक्ष श्री प्रेम गोपाल महर्जनले संस्थाको प्रतिनिधित्व गर्दै मूर्तिहरूसहित नेपाल यात्रा गर्नुभएको थियो। प्रस्थानका क्रममा नेपाली महावाणिज्यदूत श्री दधिराम भण्डारीले विमानस्थलमा उपस्थित भई शुभकामना सहित बिदाइ गर्नुभएको थियो भने नेपाल आगमनपछि पुरातत्त्व विभागकी अधिकृत श्रीमती सरिता सुवेदी तथा विभागका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरी मूर्तिहरूको जिम्मा ग्रहण गर्नुभएको थियो। 

यस ऐतिहासिक कार्यलाई सफल बनाउन विशेष भूमिका निर्वाह गर्नुहुने नेवा गुथिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री विजय मान सिंहप्रति नेवा गुथि हार्दिक कृतज्ञता व्यक्त गर्दछ। उहाँले विभिन्न निकायहरूबीच समन्वय, आवश्यक सम्पर्क तथा सम्पूर्ण प्रक्रियामा निरन्तर सहयोग पुर्‍याउँदै पर्दा पछाडिबाट अथक रूपमा योगदान दिनुभएको थियो। 

त्यसैगरी, नेवा गुथि नेपाली महावाणिज्यदूतावास, न्युयोर्कप्रति विशेष आभार व्यक्त गर्दछ। सांस्कृतिक सम्पदा फिर्ता ल्याउने प्रक्रियालाई छिटो, व्यवस्थित र सफल बनाउन नेवा गुथिमाथि विश्वास गरी जिम्मेवारी प्रदान गरेकोमा महावाणिज्यदूतावासप्रति संस्था कृतज्ञ रहेको छ। सरकारी निकाय र प्रवासी नेपाली समुदायबीचको यस्तो सहकार्यले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा नयाँ उदाहरण स्थापित गरेको छ। यी मूर्तिहरूलाई चाडै नै विशेष समारोहको साथ नेपाल सरकार तथा पुरातत्त्व विभागलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम तय गरिने छ। 

यस अवसरमा नेपाल सरकार, पुरातत्त्व विभाग, नेपाली महावाणिज्यदूतावास, म्यानहट्टन डिस्ट्रिक्ट अटर्नी कार्यालय, अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय, सम्पदा अभियन्ताहरू, अनुसन्धानकर्ताहरू, नेवा गुथिका सदस्यहरू तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति र संस्थाहरूप्रति नेवा गुथि हार्दिक धन्यवाद ज्ञापन गर्दछ। 

यो उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई नेपालको हराएको सांस्कृतिक सम्पदा आफ्नो वास्तविक घरमा फर्काउने साझा अभियानको सफल परिणाम हो। नेवा गुथि भविष्यमा पनि नेपालको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, पुनःप्राप्ति र प्रवर्द्धनका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछ।

 नेवा गुथि, न्युयोर्क